
कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , ९ मंसिर, २०८२ मंगलवार—नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। महाधिवेशन प्रतिनिधि चयन जारी रहेका बेला सार्वजनिक वक्तव्य जारी गर्दै उनले पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका कार्यकर्ताहरूको आग्रहको आधारमा नेतृत्व दाबी गर्ने निर्णय गरेको बताए।
पोखरेलले लामो भूमिगत जीवन, जेल ,यातना र संगठन निर्माणमा दशकौ लामो सहभागितालाई आफ्नो राजनीतिक धरातलका रूपमा प्रस्तुत गर्दै सामूहिक नेतृत्व, विधि र सहकार्यमा आधारित शैली अपनाउने प्रतिबद्धता जनाए। उनले पार्टी सञ्चालनमा लोकतान्त्रिक संस्कृति, कार्यकर्ताको सम्मान र पारदर्शी मूल्यांकन प्रणालीलाई प्राथमिकतामा राख्ने बताए।
उम्मेदवारी घोषणा गर्दै पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अब ‘अभिभावक’को भूमिकामा रहँदै नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्नुपर्ने सुझाव पनि दिए। सातौँ महाधिवेशनमा ओली स्वयंले प्रस्ताव गरेको दुई कार्यकालको सीमा पुनर्स्थापना गर्नुपर्ने उल्लेख गर्दै उनले नेतृत्व संक्रमण सहज बनाउनु आवश्यक रहेको बताए।
पूर्वराष्ट्रपति तथा एमालेर पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्काउने वातावरण बन्नुपर्नेमा पनि पोखरेलले जोड दिए। उनको अनुभव र योगदान पार्टीलाई वैचारिक तथा संगठनात्मक रूपमा सबल बनाउन उपयोगी हुने बताएका छन्।
महाधिवेशन नजिकिँदै गर्दा पोखरेलको उम्मेदवारीसँगै पार्टीभित्र नेतृत्व परिवर्तन र नयाँ संरचनाबारे बहस झनै तीव्र हुने संकेत देखिएको छ।
















