कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , २७ कार्त्तिक —नेपाल सरकारले राष्ट्रिय परिचयपत्र (National ID) भएका नागरिकका लागि अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने नयाँ प्रणाली सुरु गरेको छ। यस व्यवस्थासँगै अब कार्यालयमा गएर लामो लाइन बस्नु पर्ने आवश्यकता हटेको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार नागरिकले राष्ट्रिय परिचयपत्रमा भरेको बायोमेट्रिक विवरण नै मतदाता नामावलीमा समायोजन गर्न सकिने भएको हो।
“अब राष्ट्रिय परिचयपत्र भएकाहरूलाई कार्यालयमा आउनुपर्दैन, घरमै बसेर अनलाइन आवेदन दिन सकिन्छ,” भट्टराईले भने, “आवेदन स्वीकृत भएपछि मतदाता परिचयपत्र नम्बर मोबाइल वा इमेलमार्फत प्राप्त हुनेछ।”
तर जसको राष्ट्रिय परिचयपत्र छैन, उनीहरूले भने पहिलेझैँ अनलाइन फारम भरेर कार्यालयमा उपस्थित भएर फोटो र बायोमेट्रिक खिचाउनुपर्नेछ।
यस व्यवस्थाले विशेषगरी काठमाडौंमा हुने भिड घटाउने विश्वास गरिएको छ, जहाँ देशका विभिन्न स्थानका नागरिक मतदाता नामावलीका लागि आउने गर्छन्। कार्यालयका अनुसार केही समय सर्वरमा समस्या आए पनि अहिले काम सुचारु छ।
हालसम्म काठमाडौं जिल्लामा २५ हजार ७७९ जनाले मतदाता नाम दर्ता गरिसकेका छन्। नयाँ प्रणाली लागू भएपछि यो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।
त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकले पनि अब अनलाइनमार्फत मतदाता दर्ता आवेदन दिन सक्ने भएका छन्। कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार नेपाली कूटनीतिक नियोग र अनलाइन संयन्त्र प्रयोग गरी विदेशवासी नेपालीको विवरण पनि राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकसँग मिलान गरिनेछ।
निर्वाचन आयोगले मतदाता नामावली दर्ताको अन्तिम मिति ३० कात्तिक तोकेको छ। आयोगले सबै योग्य नागरिकलाई नामावलीमा समेट्न यो नयाँ प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
















