
कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,२२ मंसिर, २०८२ सोमवार—भदौ २३ र २४ गतेका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले आइजिपी दानबहादुर कार्कीको बयान लिएको छ। सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराइएका कार्कीलाई उक्त दुई दिनका घटनामा प्रहरीको भूमिका र सुरक्षा व्यवस्थापनबारे विस्तृत सोधपुछ गरिएको हो।
त्याे बेला एआइजी रहेका कार्की उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखका रूपमा जिम्मेवारीमा थिए। आयोगले विशेष रूपमा २३ भदौमा ७६ जना युवाको ज्यान जानु र २४ भदौमा व्यापक विध्वंस नियन्त्रण हुन नसक्नुका कारणबारे स्पष्टीकरण मागेको छ। कार्कीलाई पछिल्लो कात्तिक २४ गते सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।आयोगका प्रवक्ता विज्ञान शर्माका अनुसार कार्कीको बयान अझै पूर्ण नभएकाले मंगलबार पनि निरन्तर रूपमा सोधपुछ जारी रहनेछ। आयोग यसअघि नै तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङको बयान लिइसकेको छ।
आयोगले ती घटनाका बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई समेत बयानका लागि बोलाउने तयारी गरेको छ। प्रवक्ता शर्माले केही दिनभित्रै तिनीहरूलाई उपस्थित हुन औपचारिक पत्र पठाइने जानकारी दिए। आयोगले दुबै जनालाई उपत्यका नछाड्न निर्देशन दिएको छ।
पूर्वप्रधानमन्त्री ओली भने आयोगमा उपस्थित नहुने अडान दोहोर्याइरहेका छन्। तर ७६ जना नवयुवाको मृत्यु र सरकारी कार्यालयदेखि निजी सम्पत्तिसम्म भएको आगजनीका घटना राज्यका उच्च जिम्मेवार पदधारीहरूले व्याख्या गर्नुपर्ने जनदबाब बढ्दो छ।
















