
कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,११ मंसिर, २०८२ बिहीवार—प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई संस्थागत रूपमा निर्वाचन प्रक्रियामा सहकार्य गर्न आग्रह गरेकी छन्। प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न एमालेले निर्वाचन आयोगमा पुगेपछि प्रधानमन्त्रीले बिहीबार बालुवाटारमा एमाले नेताहरूसँग छलफल आह्वान गरेकी थिइन्।
प्रधानमन्त्रीले निर्वाचनसम्बन्धी सुरक्षा चुनौती तथा अन्य चासोहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। तर एमाले नेताहरूले भने सरकार गठनको विषय स्वयं सर्वोच्च अदालतमा संवैधानिक परीक्षणमा रहेकाले आगामी फागुन २१ गतेका लागि प्रस्तावित निर्वाचनबारे विश्वस्त हुन नसक्ने धारणा राखे।
बैठकमा सहभागी नेता महेश बर्तौलाका अनुसार निष्पक्ष, भयरहित र मतदाताले स्वतन्त्र रूपमा मत व्यक्त गर्न सक्ने वातावरण हालसम्म नबनेको एमालेको मूल्यांकन छ। उनीहरूले भागेका कैदीबन्दी, वेपत्ता हतियार र प्रहरी संगठनको मनोबल कमजोर पार्ने घटनाहरूलाई पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
एमालेले लोकतन्त्रप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै जनतामा जानु पार्टीको प्राथमिकता भए पनि संवैधानिक परीक्षण टुंगिएपछि मात्र अन्य प्रक्रिया सहज रूपमा अघि बढ्न सक्ने निष्कर्ष बैठकमा राखेको बर्तौलाले बताए।
















