प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते चीन प्रस्थान गर्दैछन्, जहाँ उनले बेइजिङमा आयोजना हुने शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेछन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार यो भ्रमण नेपालको एससीओ सम्मेलनमा हुने पहिलो उच्चस्तरीय सहभागिता हुनेछ।
दुईदिने सम्मेलन भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुँदैछ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सदस्य राष्ट्रका शीर्ष नेता सम्मेलनमा उपस्थित रहनेछन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यी वार्तामा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय स्थिरता, व्यापारिक सहयोग र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सन् २००१ मा स्थापन भएको एससीओमा हाल चीन, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान, उजबेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य छन्। नेपाल सन् २०२० देखि यस संगठनको संवाद साझेदार मुलुक हो।
यस वर्षको सम्मेलनमा राजनीतिक, आर्थिक तथा सुरक्षा सहयोगका विषयमा उच्चस्तरीय छलफल हुने आयोजकले जनाएका छन्। विश्लेषकहरूका अनुसार नेपालका लागि यो सहभागिता क्षेत्रीय मञ्चमा आफ्नो भूमिका सुदृढ गर्ने महत्वपूर्ण अवसर हो।
















