
कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,१२ पौष, २०८२ शनिवार—प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग महत्वपूर्ण छलफल गर्ने भएकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे हुने छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलको मुख्य एजेन्डा आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचन रहने बताइएको छ। पछिल्लो समय विभिन्न राजनीतिक दलहरूले निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण नबनेको भन्दै सरकारको ध्यानाकर्षण गराइरहेका छन्। सोही सन्दर्भमा निर्वाचन प्रक्रिया, सुरक्षा अवस्था र राजनीतिक सहमतिका विषयमा शीर्ष नेताबीच छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलको संयोजनमा प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताबीच पहिलोपटक औपचारिक छलफल भएको थियो। त्यस छलफललाई राजनीतिक संवाद पुनःस्थापना गर्ने प्रयासका रूपमा हेरिएको थियो।
जेन–जी आन्दोलनपछि सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्की सुरुआती चरणमा दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष छलफल गर्न हिचकिचाउँदै आएको आरोप लाग्दै आएको थियो। यसका कारण सरकार र प्रमुख दलहरूबीचको दूरी बढ्दै गएको विश्लेषण गरिएको थियो।
तर पछिल्लो समय राष्ट्रपति पौडेलको सक्रियतामा संवादको पहल भएपछि सरकार र दलहरूबीच पुनः सहकार्यको संकेत देखिएको छ। आजको छलफललाई चुनावी प्रक्रिया अघि बढाउने र राजनीतिक गतिरोध कम गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
















