
कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,२८ मंसिर, २०८२ आइतवार—ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई आफ्नो सदस्यताबाट निलम्बन गरेको छ। संस्थाको कार्यसमितिले उनलाई साधारण सदस्यसमेत नरहने गरी अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।
संस्थाका अनुसार, सार्वजनिक पदमा आसीन व्यक्तिमाथि गम्भीर प्रश्न उठेपछि संस्थागत मूल्य र विश्वासको रक्षा गर्न यस्तो निर्णय लिनुपरेको हो। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका एक सदस्यले भने, “संस्थाका मूल्यमान्यता र पारदर्शिताप्रतिको प्रतिबद्धताका कारण यो कदम चालिएको हो।”
महान्यायाधिवक्ता भण्डारी होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरमा सेयर लगानीकर्ता रहेको तथ्य सार्वजनिक भएपछि विवादमा तानिएकी हुन्। प्राप्त विवरणअनुसार, दुई करोड रुपैयाँ चुक्ता पूँजी रहेको उक्त कम्पनीमा भण्डारीको नाममा ४६ हजार कित्ता संस्थापक सेयर रहेको छ, जुन कुल सेयरको करिब २३ प्रतिशत हो।
उक्त फर्टिलिटी सेन्टर डिम्ब तस्करीको अभियोगसँग जोडिएको छ। यस प्रकरणमा अभियोग लागेकी डा. स्वस्ती शर्माको पनि कम्पनीमा उल्लेखनीय लगानी रहेको देखिन्छ। डा. शर्मा उक्त केन्द्रकी अध्यक्ष तथा सञ्चालक हुन् र उनी भण्डारीकी नातेदारसमेत हुन्।
महान्यायाधिवक्ता भण्डारीले आफू सेयर होल्डर भएको स्वीकार गरेकी छन्। तर, विवाद चर्किँदै जाँदा उनले गत असोज ३० गते होप फर्टिलिटीसँग सम्बन्धित मुद्दा नचलाउने निर्णय गरेकी थिइन्, जसले थप प्रश्नहरू उठाएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यो निर्णय अस्थायी रहेको जनाउँदै परिस्थितिको मूल्याङ्कनपछि थप निर्णय लिने संकेत दिएको छ।
















