
कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , २१ कार्त्तिक —नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू देश छाडेर नभाग्ने स्पष्ट घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा आयोजित “केपी ओलीसँग अन्तरसंवाद” कार्यक्रममा उनले आफूलाई भाग्ने व्यक्ति ठान्नेहरूको भ्रम चिर्दै देशमै मर्ने अठोट व्यक्त गरे।
उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारप्रति तीखो प्रहार गर्दै भने, “अहिले यो फेद न टुप्पोको सरकार हो — जरा पनि छैन, हाँगा पनि छैन। आकाशबेली जस्तै कहाँबाट पलायो, कहाँ पुग्यो थाहा छैन।”
ओलीले सरकारको असंवैधानिक निर्णय र आफ्नो पासपोर्ट रोकिएको विषयमा आक्रोश व्यक्त गर्दै प्रश्न गरे, “यो आकाशबेली सरकारले के गर्छ ? कमिटमेन्ट भएका मान्छेलाई पासपोर्ट रोक्छ ?”
स्वर कडा पार्दै उनले थपे, “केपी ओली भागेर जान्छ ? मर्न परे यस देशमै मर्छु। सुकरात भागेका थिएनन्, उनीसँग त कुनै ठूलो उद्देश्य पनि थिएन। अनि म किन भाग्ने ?”
ओलीले वर्तमान सरकारलाई “गैरजिम्मेवार र असंवैधानिक” ठहर गर्दै देश यसै किसिमको नेतृत्वमा सुम्पन नहुने बताए। उनका अनुसार, देश र लोकतन्त्रका लागि लडाइँबाट पछि हट्ने प्रश्नै उठ्दैन।
“यो हाहुमा बनेको सरकार कसैप्रति जिम्मेवार छैन,” ओलीले भने, “तर म जिम्मेवारीबाट भाग्ने होइन, जिम्मेवारी पूरा गर्ने मान्छे हुँ।”
उनको यस प्रतिक्रियालाई राजनीतिक वृतमा पासपोर्ट रोक्का विवाद र विपक्षीहरूका आरोपहरूप्रति प्रत्यक्ष जवाफको रूपमा हेरिएको छ।
ओलीले अन्त्यमा पुनः दोहोर्याए — “देश माया गर्नेहरूले भाग्दैनन्। सुकरात भागेनन्, म पनि भाग्दिन।”
















