डि आर ढकाल
यूके नेपाल प्रेस
जापान,टोकियो — जापानमा पहिलोपटक एक महिलाले प्रधानमन्त्रीको पद सम्हालेकी छन्। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नेतृ सानेई तकाइची जापानकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी हुन्।
६४ वर्षीया तकाइचीले संसद्का दुवै सदनमा भएको मतदानमा स्पष्ट बहुमत प्राप्त गरेकी थिइन्। उनको यो तेस्रो प्रयास सफल भएको हो। यसअघि उनले दुई पटक प्रधानमन्त्री बन्न प्रयास गरेकी थिइन् तर पार्टी नेतृत्वमा समर्थन जुटाउन नसकेकी थिइन्।
तकाइची जापानमा एक दक्षिणपन्थी र दृढ नेतृका रूपमा चिनिन्छिन्। उनको दृढता र कठोर राजनीतिक शैलीका कारण उनलाई ‘जापानकी आइरन लेडी’ भनेर पनि चिनिने गरिन्छ।
पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी समेत रहेकी तकाइचीले आर्थिक सुधार, राष्ट्रिय सुरक्षामा सुदृढीकरण, र जापानको संविधानमा संशोधनजस्ता विषयमा लामो समयदेखि जोड दिँदै आएकी छिन्।
उनले पदग्रहण भाषणमा भनेकी छिन्, “म जापानमा महिलाको नेतृत्व सम्भव छ भन्ने सन्देश विश्वभर पुर्याउन चाहन्छु। यो केवल मेरो व्यक्तिगत जित होइन, यो जापानी महिलाहरूको ऐतिहासिक उपलब्धि हो।”
लिबरल डेमोक्रेटिक पार्टीले पछिल्लो पाँच वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको हो। राजनीतिक अस्थिरता र आर्थिक चुनौतीबीच नेतृत्वमा आएको यो परिवर्तनलाई विश्लेषकहरूले ‘ऐतिहासिक मोड’ का रूपमा हेरेका छन्।
विशेषज्ञहरूले तकाइचीको कार्यकाल जापानको लैङ्गिक समानता र नेतृत्व भूमिकामा महिलाको सहभागिताका दृष्टिले निर्णायक हुने मूल्याङ्कन गरेका छन्।
















