कुसुम शर्मा
बेलायत |
राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको अशान्त र संवेदनशील परिस्थितिबाट देशलाई निकास दिन आफू संवैधानिक दायराभित्र रहेर निरन्तर प्रयासरत रहेको बताएका छन्।
मंगलवार जारी वक्तव्यमा उनले भनेका छन्, “देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भन्नेबारे म विचार–विमर्श र प्रयास गर्दैछु।”
यो वक्तव्य उनी शीतलनिवास छाडेर नेपाली सेनाको सहयोगमा बाहिरिएको केही दिनपछि आएको हो। जेन–जी आन्दोलनकारीको प्रदर्शन उग्र बनेपछि राष्ट्रपतिको सुरक्षा व्यवस्थामा असाधारण कदम चालिएको थियो। त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्, र आजको वक्तव्य उनको पहिलो औपचारिक उपस्थितीका रूपमा आएको हो।
राष्ट्रपतिले आन्दोलनकारीहरूको मागलाई सम्बोधन गर्न संवादमार्फत समाधान खोजिने आश्वासन दिएका छन्। उनले भनेका छन्, “आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधानको खोजी भइरहेको छ भन्ने कुरामा विश्वस्त रहनुहोस्। संयमता अपनाएर मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सबै पक्षले सहयोग गर्नुपर्छ।”
विश्लेषकहरूका अनुसार राष्ट्रपति पौडेलको सन्देशले दुई स्पष्ट सन्देश दिन्छ—पहिलो, मुलुक अझै संवैधानिक चौकटीभित्र रहेरै समाधान खोज्ने बाटोमा छ; दोस्रो, आन्दोलन चर्किँदै गए पनि मुलुकलाई असंवैधानिक निकासतर्फ धकेल्न नहुने चेतावनी छ।
















