काठमाडौं – जेन–जी आन्दोलनका प्रतिनिधिहरू बुधबार नेपाली सेनाको मुख्यालय, जंगीअड्डामा पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संवादको आह्वान गरेपछि १५–१६ जना युवा प्रतिनिधि सैनिक मुख्यालयमा उपस्थित भएका हुन्।
सैनिक स्रोतका अनुसार, जेन–जी समूहका ठूलो संख्यामा युवाहरू पुगेपछि प्रधानसेनापति अशोकराज सिग्देलले सुरुमा भेट्ने क्रममा सबैलाई एकमत भएर वार्तामा आउन आग्रह गरेका थिए। उनका अनुसार, “यो विषम परिस्थितिमा सबै पक्षको आवाज समेटिने गरी वार्ता अघि बढाउन आवश्यक छ। त्यसैले तपाईंहरू एकताबद्ध भएर संयोजक तोक्नुस् र त्यसपछि मात्रै औपचारिक वार्ता सम्भव हुन्छ।”
हाल जंगीअड्डाभित्रै जेन–जी प्रतिनिधिहरू आन्तरिक छलफलमा जुटेका छन्। उनीहरूलाई संयोजक तोक्न र साझा एजेण्डा तयार गर्न भनिएको छ, जसपछि मात्र राष्ट्रपति पौडेलको उपस्थितिमा संवाद हुने बताइएको छ।
सोमबार र मंगलबारको हिंसात्मक प्रदर्शनपछि यो पहल आएको हो। त्यतिबेला संसद् भवन र सिंहदरबारमा आगजनी भएको थियो भने कम्तिमा १९ जनाको मृत्यु र सयौँ घाइते भएका थिए। यसबीच राष्ट्रपति कार्यालय र नेपाली सेनाले विज्ञप्ति जारी गर्दै संयमता अपनाउन र संवादमार्फत् समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
विश्लेषकहरूका अनुसार, सेनाले राजनीतिक संवादमा सक्रिय भूमिका खेल्न थालेको यो कदमले संकटको संवेदनशीलता देखाउँछ। तर वास्तविक समाधान जेन–जी आन्दोलनका विभिन्न समूहबीच एकता कायम गरी साझा धारणा बनाउन सक्ने क्षमतामा निर्भर गर्ने बताइएको छ।
















