शिब कुमार ढकाल्
बेलायत |
अफगानिस्तानमा आइतबार मध्यरात गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
अमेरिकी समाचार संस्था एनबीसी न्यूज का अनुसार, स्थानीय समय राति ११:४७ बजे नांगरहार प्रान्तको जलालाबाद सहरबाट करिब १७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो।
तालिबान सरकारले पहिलो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ। ग्रामीण भेगमा ठूलो क्षति पुगेकाले विवरण संकलनमा ढिलाइ भएको पनि सरकारी स्रोतले जनाएको छ।भूकम्पपछि उद्धारका प्रयासमा ठूलो चुनौती सिर्जना भएको बताइएको छ। सडक अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिन भएको र त्यसैले तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ।
मुख्य भूकम्पपछि ५ म्याग्नेच्युडभन्दा बढीका पराकम्पनहरू लगातार महसुस गरिएको अधिकारीहरूले जनाएका छन्। त्यसपछिका झट्काले क्षति थप बढाएको बताइएको छ।भूकम्पको कम्पन अफगानिस्तानको राजधानी काबुल (२ सय किलोमिटर टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (४ सय किलोमिटर टाढा) समेत अनुभव गरिएको थियो।
यसअघि सन् २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्नेच्युडको भूकम्प जाँदा एक हजार जनाले ज्यान गुमाएका थिए।
















