शिव के ढकाल
बेलायत |
उत्तर कोरियाका नेता किम जोङ उन मंगलबार बिहान आफ्नो विशेष ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगेका छन्। चीनले आयोजना गर्ने फासीवादविरुद्धको विश्वयुद्ध विजय दिवस र जापानी आक्रमणविरुद्धको ‘प्रतिरोधी युद्ध’ स्मरण गर्ने सैन्य परेडमा उनी सहभागी हुने बताइएको छ। रोदोङ सिन्मुनका अनुसार, किम सोमबार प्योङयाङबाट प्रस्थान गरी मंगलबार बिहान चीन प्रवेश गरेका हुन्।
किमसँगै परराष्ट्र मन्त्री चो सोन हुई लगायत उच्च अधिकारीहरू पनि भ्रमणमा सहभागी छन्। प्रकाशित तस्बिरमा उनीहरू हरियो रंगको रेल डिब्बाभित्र मुस्कुराउँदै देखिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार यो रेल किमले विगतमा पनि प्रयोग गरेको बुलेटप्रुफ रेलसँग मिल्दोजुल्दो छ। उनका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङले पनि हवाइ आक्रमणको जोखिम टार्न रेलमै यात्रा गर्ने गर्थे, र उनले सो परम्परालाई निरन्तरता दिएका छन्।
चीन पुग्नु अघि, किमले अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलका लागि आवश्यक कार्बन फाइबर कम्पोजिट सामग्रीमाथि अनुसन्धान भइरहेको एउटा प्रयोगशाला निरीक्षण गरेका थिए। बुधबार बेजिङमा हुने सैन्य परेडमा किम चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायतका नेतासँगै उपस्थित हुनेछन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्रमणमा रहेकाले सो परेडमा सहभागी हुनेछन्।
















