शिव के ढकाल
बेलायत |
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् राजनीतिक मूल्य र मान्यताविपरीत सञ्चालन भइरहेको दाबी गरेका छन्। उनले राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आवाजलाई नियोजित रूपमा दबाइएको आरोप लगाए।
आइतबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा लिङ्देनले लोकतन्त्रको आधारभूत मान्यताअनुसार प्रत्येक सांसदको आवाज सुन्नु जरुरी भए पनि दुई ठूला दलको विरोधलाई बेवास्ता गरिएको भन्दै आक्रोश व्यक्त गरे।
उनले चेतावनी दिँदै भने, “संसद्मा हाम्रो कुरा नसुने सडकमार्फत उठ्न बाध्य हुन्छौं।”
यसै अवसरमा लिङ्देनले पार्टीको आन्तरिक नेतृत्वबारे पनि आफ्नो धारणा राखे। नयाँ पुस्ता र युवालाई नेतृत्व दिन आफू सधैं तयार रहेको उनले स्पष्ट पारे।
“पार्टीलाई नयाँ ढङ्गमा अघि बढाउन देशभित्रैबाट सक्षम नेतृत्व खोजिन्छ,” उनले भने, “म खुलेर भन्छु, नयाँ पुस्ताले पार्टी सम्हाल्नुपर्छ।”
लिङ्देनले राप्रपामा प्रवेश गर्ने सबैलाई नेता बन्ने अवसर खुला रहेको उल्लेख गर्दै यसलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको उदाहरण भने। उनले गलत व्यक्ति प्रवेश गर्ने सम्भावना स्वीकार गरे पनि त्यसका कारण नयाँ पुस्तालाई अवसर दिन रोकिनु नहुने बताए।
पार्टी नेतृत्वलाई जीवनभर अड्काइराख्ने सोचको आफू विरोधी रहेको उल्लेख गर्दै उनले समयमा नै महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाए।
















