पोखराको लिची बगैंचा नामसारी गराउने र विभिन्न ठाउँका जग्गा छुट दर्ता गरिदिने नाममा बिचौलिया सुजन लामाले करोडौं उठाएको पाइएको छ ।
मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग सेटिङ गरेर विभिन्न ठाउँको छुट जग्गा दर्ता गराइदिने भन्दै लामाले करोडौं उठाएको पाइएको हो ।४० वर्ष पुरानो फैसलाअनुसार पोखरा–१६ अमरदीपमा रहेको करिब १३५ रोपनीभन्दा धेरै जग्गा विभिन्न व्यक्तिको नाममा ल्याइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग पैसा उठाएको गुनासो पीडितको छ ।
पोखराका विभिन्न ठाउँका जग्गा मालपोत प्रमुख अधिकारीसँग मिलेर छुट दर्ता गराइदिने भन्दै करोडौं रुपैयाँ असुलेको पाइएको हो ।पोखराको लिची बगैंचासँगै रहेको जग्गा छुट दर्ता गराइदिने भन्दै तामाङ थरका एक जनाबाट मात्रै ११ करोड रुपैपाँ लामाले लिएका छन् भने अर्की एक महिलाको घरजग्गा नै खाइदिएर उठीबास लगाइदिएका छन् ।
देउतीमाया गुरुङ नाम गरेकी महिलाको लामाले रामबजारको घर खाइदिएका छन् । अहिले त्यो घर अर्कै व्यक्तिले किनिसकेका छन् । छिनेडाँडातिरको छुट जग्गा दर्ता गराइदिने नाममा घर बैंकमा राखेर पैसा निकालेर लामाले लगेका थिए ।
देउतीमायाको छोरीले जग्गा रोक्काका लागि वकिल मार्फत अदालतमा गए पनि वकिलसमेत बिचौलियासँग मिलिदिएकोले अहिले बिचल्लीमा परेकी छन् । जग्गा छुट दर्ता गराउने भन्दै उनले आफन्त मार्फत लिएको पैसा समेत तिर्न नसकेपछि अहिले देउतीमाया विरुद्ध नै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको छ ।
देउतीले प्रहरीमा समेत उजुरी गरेकी थिइन् तर कुनै सुनुवाइ नभएपछि अहिले उल्टो पीडित बन्न पुगेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य राजेश गुरुङसँग मिलेर लामाले ठगी धन्दा नै चलाएको पीडितले गुनासो गरेका छन् । लामा विरुद्ध जाहेरी दिन जानेलाई राजेश गुरुङ नामका व्यक्ति मार्फत रोक्ने काम गरिएको पीडितहरुको गुनासो छ । लामालाई मुख्य रुपमा संरक्षण गर्ने काम नै राजेशले गर्ने गरेको उनीनिकट स्रोतको भनाइ छ ।
















