
कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , १५ कात्तिक —पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता भीम रावलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधतामाथि प्रश्न उठाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले “संविधानकै प्रावधानले प्रधानमन्त्रीको वैधता सन्देहास्पद बनाएको” दाबी गरे।
रावलका अनुसार नेपालको संविधानले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने वा त्यस्तो सरकारमार्फत प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको छ। त्यसकारण, वर्तमान अन्तरिम सरकार “संवैधानिक दायराभन्दा बाहिर” रहेको उनको तर्क थियो।
“यदि यो सरकार संविधानभित्रैबाट बनेको हो भने यो अवैध ठहरिन्छ,” उनले भने, “तर यदि यो विद्रोहबाट बनेको हो भने त्यसको आधार खुलस्त गर्नुपर्छ।”
उनले थपे, “संविधान अनुसार पूर्वप्रधानन्यायाधीशलाई राजनीतिक नियुक्ति मानव अधिकार आयोग बाहेक अन्य कुनै निकायमा जान पाउने अधिकार छैन, त्यसैले कार्की सरकारको वैधता संविधानमै प्रश्नमा परेको छ।”
रावलले यस्तो परिस्थितिमा सरकारले गराउने सम्भावित निर्वाचन पनि संवैधानिक रूपमा चुनौतीमा पर्ने दाबी गरे।
संविधानमा रहेका “अस्पष्ट प्रावधानहरू संशोधन नगरेसम्म मुलुकमा स्थायित्व र राजनीतिक स्पष्टता सम्भव नहुने” भन्दै उनले संविधान संशोधनको आवश्यकता औंल्याए।
















