कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , १६ कात्तिक —नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने सहमति भएको छ। आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ वामपन्थी दलबीच १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमति पत्रमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्। एकता पछि दलको नाम अझै तय नभए पनि नयाँ पार्टीको चुनाव चिन्ह पाँच कुने तारा रहने उल्लेख गरिएको छ।
सहमति पत्रमा नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहका हस्ताक्षर पनि छन्।
साझा पार्टीको मूल सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने उल्लेख छ। साथै आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पनि गरिएको छ।
दलका नेताहरूका अनुसार एकता प्रक्रियाले वाम आन्दोलनलाई सुदृढ पार्ने र राजनीतिक स्थायित्वका लागि नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरिएको छ।

















