यू के नेपाल प्रेस
बेलायत |
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन्। लामो समयदेखि जारी जेन–जी आन्दोलन नियन्त्रण बाहिर पुग्नु र राजनीतिक अस्थिरता बढ्नुका कारण उनले यो कदम चाल्न बाध्य भएका हुन्।
ओलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाउँदै भनेका छन् कि वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानका थप पहलका लागि उनले प्रधानमन्त्री पदबाट हट्न आवश्यक देखे। उनी २०८१ साल असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
उनको राजीनामा वक्तव्यमा भनिएको छ, “२०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएकोमा, मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई मध्यनजर गर्दै संविधानको धारा ७७ (१) क अनुसार आजैका मितिदेखि लागु हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”
राजीनामासँगै नेपालमा नयाँ राजनीतिक समीकरणहरू सिर्जना हुने सम्भावना बढेको छ। विश्लेषकहरूका अनुसार, यस कदमले तत्कालिन राजनीतिक संकटलाई व्यवस्थापन गर्ने र स्थायी समाधानतर्फको मार्ग खोल्ने संकेत दिन्छ।

















