काठमाडौं — आज कोजाग्रत पूर्णिमा, हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धा र उत्साहका साथ मनाउने पर्व। आजको रात आकाशमा पूर्णचन्द्र उदाउँछ, र राजधानी काठमाडौंको स्वयम्भू लगायत देशभरका चैत्य तथा मठ–मन्दिरहरूमा महादीप ज्योति प्रज्वलन गरिन्छ।
यस दिनलाई घटस्थापनामा जम्मा गरिएको माटो र जमरा नदी वा जलाशयमा विसर्जन गर्ने दिन पनि मानिन्छ। दशैंको समापन र तिहारको सुरुवातको सांकेतिक दिनका रूपमा पनि कोजाग्रत पूर्णिमाको विशेष महत्व छ। बिहानै परिवारका सदस्यहरू भेला भएर देवी भवानीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ।
धार्मिक विश्वासअनुसार आजको रात धनधान्यकी देवी लक्ष्मी पृथ्वीमा भ्रमण गर्न आउँछिन्। जसले रातभरि जाग्राम बसेर, भजन–कीर्तन गरी देवीको आराधना गर्छन्, उनीहरूलाई लक्ष्मी माताको कृपा प्राप्त हुने जनविश्वास रहँदै आएको छ।
आकाशे बत्ती र परम्परा
कोजाग्रत पूर्णिमापछि बाँसको टुप्पोमा रङ्गीन कागजको सानो घर बनाएर त्यसमा बत्ती बाल्ने परम्परा सुरु हुन्छ। यसलाई आकाशे बत्ती भनिन्छ। यो चलन कार्तिक शुक्ल पूर्णिमासम्म निरन्तर चल्छ। खुला आकाशमा ओर्लिँदै गरेको चन्द्रमा र टुप्पामा बलिरहेको त्यो आकाशे बत्ती दृश्य अत्यन्त आकर्षक देखिन्छ।
तराईको रौनक र कौडा खेल
तराईका गाउँघरमा भने आजको दिन कौडा खेल्ने परम्परा जीवित छ। कौडा एक किसिमको जुवा हो, जहाँ साना कौडाहरू खालमा फालिन्छन् र तिनको स्थिति अनुसार पैसा वा वस्तु बाजीमा लगाइन्छ। गाउँभर रातभर ‘मार्रा’ भन्दै उत्साहपूर्वक जाग्राम बसेर कौडा खेल्ने परम्परा छ।
यस दिन हालै विवाह भएका नवदम्पतीहरूलाई बेहुली पक्षबाट बेहुलाको घरमा व्यञ्जन पठाउने प्रचलन पनि छ। मिठाई, दही, रोटी, भोजन तथा पानजस्ता परिकार पठाइन्छन्। बुढापाकाका अनुसार पहिलेको समयमा गम्छामा बाक्लो दही बोकेर पठाउने चलन थियो, जुन श्रद्धा र सत्कारको प्रतीक मानिन्थ्यो।
पूर्णिमा व्रतको धार्मिक र वैज्ञानिक पक्ष
शुक्ल पक्षको अन्तिम दिन हुने पूर्णिमा तिथिमा चन्द्रमा सबैभन्दा उज्यालो र तेजिलो हुन्छ। यस दिन भगवान् शिव र विष्णुको आराधना गरिन्छ, विशेष गरी सत्यनारायण पूजालाई शुभ मानिन्छ। धार्मिक विश्वास अनुसार यस दिन व्रत बस्दा स्वास्थ्य, समृद्धि र मानसिक शान्ति प्राप्त हुन्छ।
वैज्ञानिक दृष्टिले, पूर्णिमाको दिन पृथ्वीमा गुरुत्वबलको प्रभाव बढी हुने हुँदा व्रत बस्दा मेटाबोलिक प्रक्रिया सुदृढ, पाचन प्रणाली सुधार र शरीरमा सकारात्मक ऊर्जा प्रवाह हुने भनाइ छ। कतिपय भक्तहरू निराहार वा निर्जल बसेर व्रत लिन्छन् भने, केहीले एक छाक मात्र आहार ग्रहण गर्छन्।
साँझमा चन्द्रमाको दर्शनपछि व्रतको समापन गरिन्छ — यो क्षण भक्तजनका लागि आध्यात्मिक शान्ति र पूर्णताको प्रतीक मानिन्छ।
















