काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा आज वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्दै परम्परागत इन्द्रजात्रा पर्व धूमधामका साथ मनाइँदै छ।
भाद्र शुक्ल चतुर्दशीका दिन आरम्भ हुने यो पर्व विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा विशेष उत्साहका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि सुरु हुने यस पर्वले आठ दिनसम्म धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई रंगिन बनाउँछ।
धार्मिक मान्यताअनुसार इन्द्रध्वजोत्थानलाई शत्रुमाथि विजय र शक्तिको प्रतीकका रूपमा लिइन्छ। लिङ्गो निर्माणका लागि भक्तपुरको चितपोल जंगलबाट तान्त्रिक विधिबाट पूजित रूख ल्याइने र भोटाहिटीमा राखी विधिपूर्वक तयारी गर्ने परम्परा आज पनि कायम छ।
आजको मुख्य आकर्षणमा हनुमानढोका दरबार अगाडि जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा रहनेछ। विगतमा यस अवसरमा राजाले स्वयं दर्शन गर्ने परम्परा रहे पनि अहिले राष्ट्रपति उपस्थित भई अवलोकन गर्ने प्रचलन छ। जात्राभर विभिन्न सांस्कृतिक नृत्यहरू — भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच, साथै इन्द्रको वाहन ऐरावतको प्रतीक पुलुकिसी नाच — प्रस्तुत गरिन्छ।
जात्रा आठौँ दिन अर्थात् आश्विन कृष्ण चतुर्थीसम्म चल्नेछ, जस दिन धार्मिक विधिअनुसार इन्द्रध्वज पातन गरिन्छ। यस अवसरमा उपत्यकाको पश्चिमी भूभागमा अवस्थित दहचोकको इन्द्रदहमा पनि भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। यहाँ स्नान र जाग्राम गर्ने धार्मिक परम्परा रहेको छ।
यसै दिन अनन्त चतुर्दशी पनि मनाइँदै छ। भगवान् विष्णुको अनन्त रूपको पूजा–आराधना गर्दै चोखो धागोमा मन्त्रण गरिएको ‘अनन्त धागो’ बाँध्दा वर्षभर शुभ हुने विश्वास छ। यज्ञोपवीत (जनै) मन्त्रण गर्न नसकेकाहरूका लागि यस दिन मन्त्रण गर्ने शास्त्रीय व्यवस्था रहेको धर्मशास्त्रविद्हरूले बताएका छन्।
















