
कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,२९ फागुन, २०८२ शुक्रवार—गत भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार परिसर र राष्ट्रपति भवनमा भएको आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको फरेन्सिक परीक्षणबाट पुष्टि भएको छ।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले प्राप्त गरेको फरेन्सिक प्रतिवेदनअनुसार ती स्थानबाट संकलन गरिएका नमुनामा पेट्रोलियम हाइड्रोकार्बनका अवशेष फेला परेका छन्, जसले आगजनीमा पेट्रोल वा अन्य पेट्रोलियम पदार्थ प्रयोग भएको संकेत गर्छ।
भदौ २३ गते जेन–जी आन्दोलनको आह्वानमा भएको प्रदर्शनका क्रममा संसद् भवन बाहिर १९ जनाको मृत्यु भएपछि त्यसको विरोधमा भोलिपल्ट देशभर हिंसात्मक प्रदर्शन भएको थियो। ती प्रदर्शनका क्रममा सरकारी तथा सार्वजनिक भवनहरूमा व्यापक तोडफोड र आगजनी भएको थियो।
आगलागी भएका स्थानहरूबाट खरानी, अँगार, जलेको माटो, तारका टुक्रा, आधा जलेका काठ तथा कपडाका नमुनासहित १६ वटा नमुना संकलन गरेर भारतको गृह मन्त्रालयअन्तर्गत रहेको नयाँ दिल्लीस्थित सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरीमा परीक्षणका लागि पठाइएको थियो। ती नमुनामध्ये एउटा झोल पदार्थ पेट्रोल भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
फरेन्सिक परीक्षणका क्रममा भौतिक–रसायन विधि, रसायनिक विश्लेषण, थिन लेयर क्रोमाटोग्राफी र ग्यास क्रोमाटोग्राफी–मास स्पेक्ट्रोमेट्रीजस्ता वैज्ञानिक विधि प्रयोग गरेर नमुनाहरू परीक्षण गरिएको थियो।

विशेषज्ञहरूका अनुसार आगलागी भएको स्थानबाट संकलित नमुनामा हाइड्रोकार्बन देखिएमा त्यहाँ पेट्रोलियम पदार्थ प्रयोग भएको निष्कर्ष निकालिन्छ। काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेजका वरिष्ठ वैज्ञानिक डा. वसन्त गिरीका अनुसार पेट्रोलियम पदार्थका अवशेषमा सामान्यतया हाइड्रोकार्बन पाइने भएकाले यस्तो नतिजाले आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको संकेत दिन्छ।
निमजिनको अनुसन्धानले देखाएअनुसार नमुनाहरू संसद् भवन (नयाँ बानेश्वर), सर्वोच्च अदालत, सिंहदरबार परिसरभित्रका मन्त्रालयका भवन तथा राष्ट्रपति भवन आसपासबाट संकलन गरिएको थियो। नमुनाहरू सिलबन्दी कार्टुनमा राखी भारत पठाइएको थियो।
यद्यपि, नेपाल सरकारले भारतसँगको समन्वयमा परीक्षण गराए पनि उक्त फरेन्सिक प्रतिवेदन सार्वजनिक गरिएको छैन। भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले भने फरेन्सिक परीक्षणको प्रतिवेदन नपाउँदै आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले नमुना परीक्षणका लागि पठाइएको जानकारी आफूहरूलाई भए पनि प्रतिवेदन उपलब्ध नगराइएको बताएका छन्। आयोगले भविष्यमा यस्ता नमुना नेपालमै परीक्षण गर्न सक्ने प्रयोगशाला स्थापना गर्न सुझाव दिएको पनि उनले बताए।
निमजिनको खोजअनुसार भारतको प्रयोगशालाले माघ ३ गतेदेखि परीक्षण सुरु गरी माघ १६ गते प्रतिवेदन तयार गरेको थियो। त्यसपछि माघ २६ गते भारतको गृह मन्त्रालयमार्फत प्रतिवेदन नेपाल पठाइएको थियो, जुन परराष्ट्र मन्त्रालय हुँदै माघ २९ गते गृह मन्त्रालयमा पुगेको देखिन्छ।
भदौ २३ र २४ का घटनाका क्रममा देशभर सरकारी, निजी तथा सामुदायिक गरी २ हजार ६ सय ७१ वटा भवनमा तोडफोड तथा आगजनी भएको राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख छ। तीमध्ये २ हजार १ सय ३४ वटा सरकारी भवन रहेको बताइएको छ।
सो आन्दोलनका क्रममा खिचिएका तस्बिर तथा भिडियोहरूमा पनि प्रदर्शनकारीहरूले विभिन्न स्थानमा पेट्रोल बम प्रहार गरेको देखिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका त्यस्ता सामग्रीको विश्लेषण गर्दा पनि आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको संकेत देखिएको निमजिनले जनाएको छ।
















