काठमाडौं — नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको भोलिपल्टै संघीय संसदको प्रत्यक्ष प्रसारण प्रभावित हुने निश्चित भएको छ।
संसद सचिवालयले युट्युबमार्फत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै बैठकहरू प्रत्यक्ष देखाउँदै आएको थियो। त्यसमै बैठकहरूको सम्पूर्ण भिडियो संग्रह पनि उपलब्ध छ। तर युट्युब बन्द भएपछि संसद प्रसारण प्रणालीमा अवरोध देखिएको छ।
सभामुख देवराज घिमिरेले संसदको प्रत्यक्ष प्रसारण र भिडियो अर्काइभ सुरक्षित राख्ने विषयमा तत्काल चासो व्यक्त गरेका छन्। उनका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, सभामुखले सचिवालयलाई वैकल्पिक प्रविधि पहिल्याउन निर्देशन दिइसकेका छन्।
संघीय संसदका प्रवक्ता एकराम गिरीले भने, युट्युब बाहेक प्रत्यक्ष प्रसारण गर्ने अन्य प्रविधि तत्काल उपलब्ध नभएकाले समस्या देखिएको बताए।
“हामीसँग अहिलेसम्मका सबै बैठक युट्युबमै छन्। अब कसरी प्रत्यक्ष गर्ने भन्ने प्रश्न खडा भएको छ,” उनले भने।
संसदको नियमावलीले बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने व्यवस्था गरेको छ। तर युट्युब बन्द भएपछि सचिवालय अलमलमा परेको छ।
गिरीका अनुसार, युट्युब मात्र होइन, सांसदहरूसँग समितिहरूले गर्ने ह्वाट्स एप कम्युनिकेशन पनि प्रभावित हुनेछ। “अब सांसदहरूबीच सञ्चारका लागि भाइबरजस्ता दर्ता भइसकेका प्लेटफर्म प्रयोग गर्नुपर्ने हुन्छ,” उनले बताए।
















