
कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,१ माघ, २०८२ बिहीवार—नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिले आफ्नो पहिलो बैठकमार्फत पार्टीको संगठनात्मक र निर्वाचनसम्बन्धी प्राथमिकताहरू तय गरेको छ।
ललितपुरमा आज बसेको बैठकले सभापति गगन थापालाई निर्वाचन घोषणा पत्र लेखन समितिको संयोजकको जिम्मेवारी दिएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै नीति, कार्यक्रम र प्रतिबद्धता समेट्ने उद्देश्यले यो जिम्मेवारी तोकिएको हो।
त्यसैगरी, बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई निर्वाचन परिचालन समितिको संयोजक नियुक्त गरेको छ। पार्टी संगठनलाई सक्रिय बनाउने र निर्वाचन तयारीलाई प्रभावकारी ढंगले अघि बढाउने जिम्मेवारी उक्त समितिको रहने बताइएको छ।
बैठकले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्ने र सभापतिको हस्ताक्षरसमेत नवीकरण गर्ने निर्णय गरेको छ। यससँगै कांग्रेसले संस्थागत प्रक्रिया पूरा गर्दै आगामी राजनीतिक गतिविधिका लागि औपचारिक तयारी थालेको संकेत दिएको छ।
















