शिव ढकाल
यूके नेपाल प्रेस
बेलायत , १३ कात्तिक — नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विवाद चर्किएको छ, सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहबीच तीव्र मतभेद बढ्दै गएको छ।
संस्थापन पक्षका नेताहरूले आसन्न निर्वाचनको तयारीलाई कारण देखाउँदै अहिले नियमित वा विशेष महाधिवेशन सम्भव नभएको तर्क गरेका छन्। तर, महामन्त्रीद्वय मंसिरभित्रै नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्।
केन्द्रीय समिति बैठक असोज ३० गतेदेखि स्थगित भएको बीचमा दुबै पक्ष आ–आफ्नो रणनीतिमा सक्रिय भएका छन्। सभापति देउवा सिंगापुर प्रस्थान अघि निकट नेताहरूसँग छलफल गरेर चुनावअघि महाधिवेशन नहुने संकेत दिएका थिए।
उता, महामन्त्री पक्षधर नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान अघि बढाएका छन्। करिब ५४ प्रतिशत प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाइसकेका छन्।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन गर्न सम्भव हुने दुई विकल्पसमेत प्रस्तुत गरेका छन्। थापाले मंसिर २७ देखि २९ सम्म पार्टीको १५औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन्।
तर, संस्थापन पक्षका नेता विमलेन्द्र निधि लगायतले चुनावअघि महाधिवेशन गर्नु प्रतिकूल हुने र यसले निर्वाचन तयारीमा बाधा पुर्याउने तर्क गरेका छन्। निधिले विशेष महाधिवेशनको मागलाई “फुटतर्फ लैजाने प्रयास” भनेर टिप्पणी गरेका छन्।
महामन्त्री पक्षले भने पार्टी विभाजनको आरोप अस्वीकार गर्दै आफ्नो उद्देश्य कांग्रेसलाई “एकीकृत र सशक्त बनाउने” रहेको बताएका छन्।
देउवा नेतृत्वको समितिको कार्यकाल यही मंसिरमा सकिँदैछ। संस्थापन पक्षले समितिको कार्यकाल थप्नुपर्ने बताउँदै चुनावी तयारीमा ध्यान दिनुपर्ने मत राखेको छ। तर, विपक्षी समूहले बलमिच्याईं नगर्न चेतावनी दिएको छ।
महामन्त्री पक्षीय केन्द्रीय सदस्य मधु आचार्यले भने, “यदि कार्यकाल बलमिच्याईं गरेर बढाइयो भने ५५ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन बोलाएर केन्द्रीय समितिको निर्णय खारेज गर्नेछन्।”
















