कुसुम शर्मा
बेलायत— पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध परेको किटानी जाहेरी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले फिर्ता पठाएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारका तर्फबाट ओली र लेखकविरुद्ध परेको जाहेरीलाई काठमाडौं प्रहरी परिसरले मंगलबार आयोगमा पठाएको थियो। तर आयोगले बिहीबार फौजदारी अपराधसम्बन्धी अनुसन्धान आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै जाहेरी प्रहरीमै फिर्ता पठाएको हो।
आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फौजदारी वारदातमा विस्तृत अनुसन्धान र अभियोजन लगाउने कार्य यस आयोगको अधिकार क्षेत्रभित्र पर्दैन। यस किसिमका अपराधमा अनुसन्धान तथा कारबाहीका लागि नेपाल सरकारले जिम्मेवारी पाएका संयन्त्रहरूसँगै तत्काल कदम चाल्न सक्ने व्यवस्था गरेको छ।”
प्रहरी परिसरमा मृतक रसिक खतिवडाका बुवा पुरुषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले संयुक्त रुपमा जाहेरी दिएका थिए। जाहेरीमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरी कारबाही अघि बढाउन माग गरिएको थियो।
तर आयोगको निर्णयपछि अब फौजदारी अनुसन्धान पुनः प्रहरीको जिम्मामा फर्किएको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बीबीसी संवाददातासँग भने, “हामीले आयोगको पत्र औपचारिक रूपमा प्राप्त गरेका छैनौं। प्राप्त भएपछि यसको कानुनी विवेचना र विश्लेषण गरेर अघि बढ्नेछौं।”
उनी भन्छन्, “त्यत्रो सम्मानित आयोगले फिर्ता पठाएको कुरा छ, हामी गृह मन्त्रालयको विज्ञप्ति, राजपत्र र कानुनी पक्षको राय लिएर त्यसपछिका प्रक्रिया अगाडि बढाउँछौं।”
जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर तत्कालै १९ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा संख्या ७५ पुगिसकेको छ। घटनापछि राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ।
















