काठमाडौं, नेपाल-काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असोज १७ गतेदेखि २० गतेसम्म राजधानी उपत्यका तथा आसपासका क्षेत्रमा लगातार भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
प्रशासनले वर्षासँगै बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाको जोखिम बढ्ने चेतावनी दिँदै अनावश्यक रुपमा लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको हो। विशेष गरी असोज १७ देखि २० गतेसम्म काठमाडौँ बाहिर जाने वा बाहिरबाट प्रवेश गर्ने यात्रुहरुलाई रातको समयमा यात्रा नगर्न भनिएको छ।
कार्यालयले आपतकालीन अवस्थाका लागि तत्काल उद्धार, सहयोग तथा राहत उपलब्ध गराउने सम्पर्क नम्बर सार्वजनिक गरेको छ। प्रशासनका अनुसार सम्भावित जोखिमलाई न्यून पार्न स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरुसँग समन्वय गरी आवश्यक तयारी थालिएको छ।
विपद्को जोखिम बढ्ने भएकाले नागरिकलाई सतर्क रहन, सुरक्षित स्थानमा बस्न र मौसमसम्बन्धी सूचना नियमित रूपमा पालना गर्न समेत आग्रह गरिएको छ।

















