काठमाडौं — नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दामा अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरिएको छ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार सार्वजनिक भएको पत्रमार्फत बस्नेतमाथि थप अनुसन्धान गर्न निर्देशन दिएको हो। जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले गत असोज ५ गते साइबर ब्युरोलाई लेखेको पत्र हालै सार्वजनिक भएको हो।
उक्त पत्रमा शोभा पाठक भनिने जानुका पाठकले दिएको जाहेरीका आधारमा बस्नेतविरुद्ध छानबिन अघि बढाउन भनिएको छ। जाहेरीमा बस्नेतले आफ्नो फेसबुक वालमा अमर्यादित शब्द प्रयोग गरी गाली बेइज्जती गरेको आरोप लगाइएको छ।

पत्रमा भनिएको छ : “प्रतिवादी महेश बस्नेतले नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपष्ट बौलाउँदै हिँडिरहेको छ भनी अमूर्त ढंगले ‘भालु’ शब्द प्रयोग गरेको देखिन्छ। उक्त शब्द कसलाई लक्षित हो र कुन प्रयोजनका लागि प्रयोग गरिएको हो भन्ने स्पष्ट पार्न प्रतिवादीलाई बाध्य बनाउनुपर्छ।”
बस्नेतमाथि मुद्दा अघि बढाउने प्रक्रियाले राजनीतिक वृत्तमा व्यापक चासो जगाएको छ। एमाले नेताहरूले यसलाई राजनीतिक प्रतिशोधको परिणाम भनेका छन् भने आलोचकहरूले सार्वजनिक पदमा बसेका नेताहरूले सामाजिक सञ्जाल प्रयोगमा अझ बढी सावधानी अपनाउनुपर्ने तर्क गरेका छन्।
यसबारे बस्नेत र एमालेले आधिकारिक प्रतिक्रिया दिएको छैन।
















