काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले हालै देखिएका आन्दोलनका घटनाको आडमा राजनीतिक दल र दलहरूले दिएको योगदान मेट्ने दुष्प्रयास भइरहेको टिप्पणी गरेका छन्।
भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको आफ्नै घर बिहीबार अवलोकन गर्दै उनले तोडफोड र आगजनीका गतिविधिले दलहरूको भूमिकामाथि गम्भीर प्रहार भएको बताए। “विराटनगरमा कोइराला निवास जल्नु, काठमाडौंमा चाक्सीबारी र कृष्णप्रसाद भट्टराईको आश्रम जल्नु—यी सबै घटनाले देखाएको छ कि जेनजी आन्दोलनको कभरअपमा दलहरूले गरेको योगदानलाई ‘नकार्ने’ प्रयास भइरहेको छ,” सिंहले भने।
उनका अनुसार लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका अपरिहार्य छ, तर अहिले देखिएका गतिविधिहरूले दललाई कमजोर पार्ने प्रयत्न गरिएका छन्। उनले घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै, “दलहरूलाई मिनिमाइज गर्ने दुष्प्रयास भइरहेको छ। लोकतन्त्रमा दलहरूको भूमिकालाई संस्थागत गरेर मात्रै देशलाई अघि बढाउन सकिन्छ। जलाएर, तोडफोड गरेर वा शून्यतामा केही हासिल गर्न सकिँदैन,” भन्दै चेतावनी दिए।
सिंहले आन्दोलनमा योजनाबद्ध ढंगले घुसपैठ भएको दाबी गर्दै सरकार सचेत रहनुपर्ने बताए। “यसमा राम्रोसँग छानबिन हुनुपर्छ। अन-डेमोक्रेटिक प्रोसेसमार्फत देशलाई अस्थिर बनाउन खोज्ने प्रयासलाई रोक्न सरकार अलर्ट हुनुपर्छ,” उनले भने।
















