काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको संविधान जोगाउन आफूले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।
संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जेनजी आन्दोलनपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार ढल्दा संविधान र राष्ट्रपति संस्था समेत खारेज गर्ने प्रयास भएको बताएका हुन्। “इतिहास र घटनाक्रमले मलाई सहजीकरण गर्ने अवसर दियो। संसद विघटन मात्र होइन, संविधान खारेज गर्ने र राष्ट्रपति हटाउने कसरत पनि भएको नजिकैबाट देखेँ। अन्ततः रातभर राष्ट्रपति, प्रधानसेनापति र दलका नेताहरूसँग छलफल गरेर अन्तरिम सरकारको सहमति बनाएर संविधान जोगाउन योगदान पुर्याएँ,” उनले भने।
उनले संविधानलाई ‘सामान्य दस्तावेज नभएको’ बताउँदै राष्ट्रपति संस्थालाई जोगाउन हरसम्भव प्रयास गरिएको स्पष्ट पारे। “यो संविधान र राष्ट्रपति संस्थासँग माओवादीको योगदान जोडिएको छ, त्यसैले त्यसलाई जोगाउन मैले पहल गर्नुपर्ने जिम्मेवारी पाएको थिएँ,” प्रचण्डको भनाइ थियो।
प्रचण्डले यस प्रक्रियामा साथ दिएको भन्दै प्रधानसेनाप्रति आभार प्रकट गरे। “राजनीतिक निकास नखुल्ने हो भने देश ठूलो अप्ठेरोमा पर्न सक्थ्यो भन्ने चेतावनी प्रधानसेनापतिबाट आएको देखेँ,” उनले भने।
हालैका आन्दोलनमा तोडफोड र आगजनीका घटनाबारे उनले ‘घुसपैठ भएको सम्भावना’ औंल्याउँदै चेतावनी दिएका छन्। साथै, वर्तमान संविधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने आफ्नो धारणा पनि दोहोर्याए।
















