काठमाडौं, ८ भदौ — नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षको अवसरमा भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन काठमाडौं आएकी छन्। उनको नेपाल भ्रमणसँगै उच्चस्तरीय द्विपक्षीय भेटवार्ता औपचारिक रूपमा सुरु भएको छ।
शनिबार काठमाडौं आइपुगेकी उपराष्ट्रपति सुआनले आइतबार बिहान उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेकी थिइन्। त्यसलगत्तै दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक प्रारम्भ भएको हो।
नेपाल भ्रमणको क्रममा उनले शनिबारकै दिन परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेट गरेकी थिइन्। सो अवसरमा मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई उडान सुरु गर्न प्रस्ताव राखेकी थिइन्। यो विषयमा पनि द्विपक्षीय छलफलमा चर्चा हुने जनाइएको छ।
उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सो भेटमा आपसी सम्बन्ध, क्षेत्रीय सहकार्य र पारस्परिक हितका विषयमा विचारविमर्श हुनेछ।
उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछिन्। साथै उनले पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलहरूको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ। त्यसपछि उनी स्वदेश फर्किनेछिन्।
यो भ्रमण नेपालमा भियतनामका तर्फबाट भएको पहिलो उच्चस्तरीय औपचारिक भ्रमण मानिएको छ।
















