शिव के. ढकाल
www.uknepalpress.com | National Press Corporation (NPC)|
United Kingdom | १९ अगस्ट २०२५
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विराटनगरस्थित नेकपा एमाले मोरङको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्दैछिन्। तर, अध्यक्ष केपी शर्मा ओली निकट समूहले उक्त कार्यक्रममा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएको छ।
एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत पार्टीले कुनै आधिकारिक कार्यक्रम नराखेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। भण्डारी सोमबार विराटनगर आएकी थिइन् र मंगलबार दिउँसो १२ बजे पान्चालीस्थित पार्टी कार्यालय पुग्ने कार्यक्रम छ। मोरङ र विराटनगर कमिटीमा भण्डारी पक्षको वर्चस्व रहेको बताइन्छ।
भण्डारी निकट नेताहरूका अनुसार प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मुख्यमन्त्री हिक्मत कार्कीसहितका नेताहरूले फोनमार्फत कार्यकर्तालाई कार्यक्रममा नजान दबाब दिइरहेका छन्। एक नेताले भने, “पार्टी सत्ताको प्रभाव देखाएर कार्यकर्तालाई धम्क्याउने काम भइरहेको छ। अग्रज नेतृ पार्टी कार्यालय आउँदा सहभागी नहुन दबाब दिने कार्य त्रस्त मानसिकताको उपज मात्र हो। कार्यकर्ताको उपस्थिति भव्य हुनेछ।”
भण्डारी आजै दिउँसो १ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
















