काठमाडौं — पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) दिउँसो आफ्नो नयाँ सम्पर्क कार्यालय उद्घाटन गर्ने तयारी गरेकी छिन्।
गत वर्ष सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी भण्डारीले एमाले नेतृत्वसँगको असहमतिको बीचमा छुट्टै कार्यालय सञ्चालनमा ल्याउन लागेकी हुन्।
‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’का संयोजक तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका अनुसार कार्यालयको उद्घाटन कार्यक्रम दिउँसो २ बजे हुनेछ। उक्त समितिकी संरक्षक समेत रहेकी भण्डारी स्वयंले कार्यालय उद्घाटन गर्ने छिन्। कार्यक्रममा एमालेका केही केन्द्रीय नेताहरूसमेत सहभागी हुने जनाइएको छ।
यद्यपि समितिको नाम जन्मजयन्ती व्यवस्थापनसँग जोडिए पनि भण्डारी निकट वृतका अनुसार यो कार्यालयमार्फत पूर्व राष्ट्रपतिले आफ्ना राजनीतिक गतिविधिहरूलाई व्यवस्थित गर्ने तयारी छ।
यसअघि मदन भण्डारीको ७५औं जन्मजयन्तीका लागि पौडेलको नेतृत्वमा ७५ सदस्यीय समिति गठन गरिएको थियो। सो समितिले जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारीका विचारलाई लिएर वर्षभर विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको थियो। तर, एमालेले भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक लगाउने र उनको सदस्यता नवीकरण नगर्ने निर्णयपछि परिस्थिति नयाँ मोडमा गएको हो।
यसै परिवेशमा भण्डारी पक्षधरहरूले मदन भण्डारी हिरक जयन्ती समिति र नयाँ सम्पर्क कार्यालयमार्फत राजनीतिक गतिविधि अघि बढाउने योजना बनाएका छन्।
नेताहरूका अनुसार हाल भाडामा लिइएको यो घर ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण छ। यही घरबाट २०४८ सालको आमनिर्वाचनमा मदन भण्डारीले प्रचार अभियान सञ्चालन गरेका थिए। उनको निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरलाई निर्वाचन केन्द्र बनाएकी थिइन्। अहिले पुनः सोही घरलाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्दै एमालेभित्रको अन्तरिक राजनीति प्रभावित पार्ने तयारी भइरहेको देखिन्छ।
















