
कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , ३ मंसिर, २०८२ बुधवार —नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ६ गते काठमाडौंमा हुने पार्टीको कार्यक्रमपछि प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा दिनुपर्ने दाबी गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर ५ र ६ गते राजधानीमा एमालेले आयोजना गर्ने विभिन्न सभाहरू ‘शान्तिपूर्ण किन्तु प्रभावशाली’ हुने बताउँदै, त्यसपछि सरकारको वैधता प्रश्नमा पर्ने दाबी गरे।
बस्नेतका अनुसार एमालेले युथ भोलिन्टियर फोर्स गठन गर्ने तयारी गरेको छ, जसले माइतीघरदेखि बानेश्वरसम्म रातो क्याप लगाएर अनुशासित र शान्तिपूर्ण प्रदर्शन गर्नेछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर ‘राष्ट्रिय स्वयंसेवक फोर्स’ घोषणा गरिने उनको भनाइ थियो।
मंसिर ६ गते भृकुटीमण्डपमा उपत्यकास्तरीय बृहत् सभा आयोजना हुने जनाउँदै बस्नेतले उक्त कार्यक्रम “व्यापक रूपमा सफल भएपछि” प्रधानमन्त्री कार्कीले ‘संविधानले नचिन्ने अवैधानिक सरकार’ को नेतृत्व छाड्नुपर्ने स्थिति आउने दाबी गरे।
उनले सिमरामा पार्टी कार्यकर्तालाई प्रवेश निषेध गरिएको भन्दै सरकारको निर्णयलाई ‘राजनीतिक दबाबको संकेत’का रूपमा व्याख्या गरे।
















