कुसुम शर्मा
बेलायत-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको विश्वसनीयता पुनःस्थापना गर्न नेताहरूसँग आह्वान गरेका छन्।
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवा ३४ दिनपछि पहिलो पटक सार्वजनिक रूपमा पार्टी बैठकमा देखिएका हुन्। उनको उपस्थितिलाई ध्यानमा राख्दै सानेपा आसपासको क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको थियो।बैठकमा देउवाले करिब १६ सय शब्दको लिखित सन्देश वाचन गर्दै भदौ २३ र २४ का हिंसात्मक घटनाबाट पार्टी कार्यालय र नेताहरूको सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनीप्रति गहिरो दु:ख व्यक्त गरे। उनले ज्यान गुमाएका नागरिकहरूलाई श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे।
देउवाले भने, “यो घटना आकस्मिक होइन, सुनियोजित र योजनाबद्ध थियो भन्ने तथ्यहरू उजागर हुँदै छन्। यसको निष्पक्ष अनुसन्धान आवश्यक छ।” उनले देशका सबै अंगहरूको मनोबल उच्च राख्दै संवैधानिक निकायहरूलाई निर्भीकताका साथ काम गर्न आग्रह गरे।पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको ऐतिहासिक भूमिका स्मरण गर्दै भने, “कांग्रेसले ८० वर्षदेखि राष्ट्रियता र लोकतन्त्रका निम्ति कहिल्यै सम्झौता गरेको छैन। अहिले पनि हामीले आर्जित विश्वसनीयताको पुनः पुष्टि गर्नुपर्छ।”
उनले पार्टीमा देखिएका मतभेदलाई अन्त्य गर्दै आन्तरिक एकता र सहकार्यमा जोड दिए। “व्यक्तिगत वा समूहगत मतभेदभन्दा माथि उठेर हामी एकताबद्ध हुनुपर्छ,” उनले भने।देउवाले पार्टीको १५औँ महाधिवेशन तोकिएको अवधिमै सम्पन्न हुने स्पष्ट गरे र त्यसपछि नेतृत्व हस्तान्तरण गर्ने संकेत समेत दिए। “घरमा सधैं एउटै मुली रहँदैन, पार्टीमा पनि सधैं एउटै सभापति रहँदैन,” भन्दै उनले आफ्नो राजनीतिक उत्तराधिकारीको बाटो खुला भएको सन्देश दिए।
स्वास्थ्य कारण देखाउँदै उनले सक्रिय राजनीतिबाट क्रमिक रूपमा विश्राम लिने संकेत गरे र उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेको घोषणा पनि गरे।देउवाले देशमा अस्थिर राजनीतिक वातावरण र कमजोर सुरक्षा स्थितिप्रति चिन्ता व्यक्त गर्दै भने, “निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित हुन आवश्यक पूर्वशर्त अझै तयार भएको छैन। सरकारले त्यसका लागि वातावरण बनाउनुपर्छ।”
आफूमाथि भएको आक्रमण र बदनामीका प्रयासप्रति उनले दुख व्यक्त गरे तर जनताप्रतिको प्रतिबद्धता दोहोर्याए—“जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहन्छु।”
















