२६ असोज, काठमाडौं ।
पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी मनोज केसीका अनुसार उनलाई आइतबार काठमाडौंमा पक्राउ गरिएको हो।
महरामाथि २०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट ०५८७ बाट आएका चिनियाँ नागरिक लि हानसोङसँग सम्बन्धित सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेको छ।
हानसोङले ल्याएका दुई सुटकेसमा रहेको ७३ वटा बट्टाभित्र ७३० थान ‘भेप’ (इलेक्ट्रोनिक सिगरेट) मार्फत ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन लुकाएर ल्याइएको खुलेको थियो।
सीआईबीको अनुसन्धान अनुसार उक्त सुन भन्सारका नासु रेवन्त खड्कालगायत कर्मचारीको मिलेमतोमा बजारमा बिक्री गरिएको थियो।
महरामाथि सो सुन छुटाउन दबाब दिएको आरोप छ। यसअघि उनका छोरा राहुल महरा सोही प्रकरणमा पक्राउ परेर जेल चलान भइसकेका छन्।
सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले २ महिनासम्म गरी ९ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको थियो।
यस प्रकरणमा रेवन्त खड्कासहित ६ जनामाथि मुद्दा दायर गरिएको छ भने पूरक अभियोजनमा दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा, र नीमा गुरुङलाई मतियारका रूपमा समावेश गरिएको छ।
सीआईबीले महरासँग केही दिनअघि बयान लिएको थियो। अनुसन्धानमा त्रिभुवन विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलबीच निरन्तर कल सम्पर्क भएको प्रमाण फेला परेको बताइएको छ।
स्रोतका अनुसार, यो महरा विरुद्धको तेस्रो अभियोजन हो।
अघिल्ला चरणमा पनि महराको नाम अनुसन्धानको फाइलमा परेपनि, राजनीतिक दबाबका कारण अनुसन्धान अघि बढ्न नसकेको बताइन्छ।
स्रोतका अनुसार, सीआईबीले यसपटक सुन तस्करीको सम्पूर्ण सञ्जाल र राजनीतिक संरक्षणका कोणहरू समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
















