काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता बाबुराम भट्टराईले पार्टी अध्यक्ष पद त्याग गर्दै देशको नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताएका छन्।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भट्टराईले आफूले पद त्याग्नुको मूल कारण नयाँ पुस्तालाई प्रोत्साहन दिनु भएको स्पष्ट पारे।
“हाम्रो नातिनातिनी पुस्ता अगाडि आइसके, अब उनीहरूलाई प्रोत्साहन दिनुपर्छ, उनीहरूले यो देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता म राख्छु,” उनले भने।
भट्टराईले देशका पुराना राजनीतिक दल र नेताहरू अब सच्चिन वा स्वतः इतिहासमा विलीन हुनुपर्ने पनि टिप्पणी गरे। “नयाँ र पुराना दलहरू कि सच्चिनुपर्छ कि सकिनुपर्छ,” उनले भने।
अध्यक्ष पदबाट हटे पनि आफू वैकल्पिक राजनीतिक अभियानलाई निरन्तर अघि बढाउने भट्टराईले स्पष्ट गरे। “म वैकल्पिक राजनीतिक अभ्यासमै छु र यस अभियानलाई अझै गहिर्याएर लैजानेछु,” उनले भने।
पूर्व माओवादी नेता भट्टराईले विगत केही वर्षयता नयाँ पुस्तालाई राजनीति प्रवेश गराउनुपर्ने आवश्यकता बारम्बार दोहोर्याउँदै आएका छन्। यस कदमलाई कतिपय विश्लेषकहरूले नेपाली राजनीतिमा पुस्तान्तरणको संकेतका रूपमा लिएका छन्।
















