नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हालसालै पेश गरेको प्रस्तावबारे अन्तिम निर्णय पार्टीको केन्द्रीय समितिबाट मात्रै हुने स्पष्ट पारेका छन्।
कोइरालाका अनुसार देश गम्भीर राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बेला अहिले पार्टीभित्र प्रारम्भिक छलफल मात्र भएको छ। त्यसैले तत्काल धारणा सार्वजनिक गर्नु उचित नहुने उनको भनाइ थियो।
शनिबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “अहिले छलफलमात्रै भएको हो। केन्द्रीय समितिले विस्तृत बहस गरेर मात्रै औपचारिक धारणा सार्वजनिक गर्नेछ।”
गत शुक्रबार बसेको बैठकमा महामन्त्री थापा र शर्मा दुवैले पार्टी पुनर्गठनका लागि नियमित वा विशेष महाधिवेशन गर्न सकिने सुझाव दिएका थिए। तर कोइरालाले व्यक्तिगत मतभन्दा संस्थागत निर्णय महत्वपूर्ण हुने बताए। “नेपाली कांग्रेसले के बोल्छ भन्ने कुरा नै मुख्य हो, व्यक्तिगत अभिव्यक्ति होइन,” उनले जोड दिए।
संविधान र आगामी निर्वाचन
संविधानलाई संकटबाट जोगाउन राष्ट्रपतिको भूमिकाको प्रशंसा गर्दै कोइरालाले चुनाव नै संविधानलाई सही बाटोमा फर्काउने एक मात्र उपाय भएको बताए।
उनले भने, “संविधानलाई धेरै नचलाइ न्यूनतम क्षति गरेर निर्वाचन घोषणा गरिएको छ। अहिले संविधान डिरेल भएको अवस्था छ तर यसलाई ट्र्याकमा ल्याउने भनेको निर्वाचनबाटै हो।”
राष्ट्रपति पौडेलले संविधानको धारा ६१ को उपधारा ४ अनुसार आगामी ६ महिनाभित्र निर्वाचनको घोषणा गरेका छन्, जसले संविधानलाई थप संकटमा जानबाट जोगाएको कोइरालाको टिप्पणी थियो।
युवापुस्ताको माग सम्बोधनमा कांग्रेस अझै कमजोर रहेको स्वीकार गर्दै उनले भविष्यमा यो पक्षमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
















