कुसुम शर्मा
नेशनल प्रेस कोर्पोरेशन्(एन पी सी),बेलायत

बेलायत— नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग खुला रूपमा उठ्न थालेको छ। ललितपुर धोबीघाटस्थित रामबाग महलमा जारी बैठकमा बिहीबारसम्म झन्डै एक दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले ओलीको राजीनामा माग गरेका हुन्।
बैठकमा बोल्ने नेताहरूले भदौ २३ र २४ गतेका घटनाको समीक्षा गर्दै नेतृत्वको नैतिक जिम्मेवारी लिनुपर्ने धारणा राखेका छन्। ओलीले महाधिवेशनमार्फत् नेतृत्व र पुनर्गठन गर्ने प्रस्ताव गरे पनि, असन्तुष्ट पक्षले तत्काल राजीनामाको माग गर्दै विरोध तीव्र पारेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवाको उदाहरण दिँदै झापाका केन्द्रीय सदस्य रविन कोइरालाले ओलीलाई पद त्याग्न सुझाव दिएका थिए। “देशमा यत्रो घटना हुँदा पनि नेतृत्वले आत्मालोचना नगर्नु दुःखद हो,” उनले भने।
त्यस्तै केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर, रचना खड्का, झपट रावल, कृष्ण थापा लगायतका नेताहरूले पनि नेतृत्व हस्तान्तरणको माग गर्दै पार्टीमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताएका छन्।
भण्डारीको पक्षमा ३० भन्दा बढी केन्द्रीय सदस्य
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने विषय पनि चर्चाको केन्द्रमा रहेको छ। गत साउनमा सदस्यता नवीकरण रोक्ने निर्णय भए पनि अहिले ३० भन्दा बढी केन्द्रीय सदस्य भण्डारीको पक्षमा खुलेर उभिएका छन्।
बुधबार र बिहीबारको बैठकमा रचना खड्का, गणेश खनाल, ममता गिरी, प्रभा बराल, झपट रावल, हरि राई, विद्या भट्टराई लगायतका नेताहरूले भण्डारीलाई पुनः पार्टीमा सक्रिय भूमिका दिनुपर्ने धारणा राखे।“फौजदारी अभियोगबाहेक अन्य कारणले सदस्यता रोक्नु राम्रो नजिर होइन। पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता पुनः खोलिनुपर्छ,” केन्द्रीय सदस्य रचना खड्काले भनिन्।
केन्द्रीय सदस्य टंक कार्कीले संकटका बेला भण्डारीजस्ता नेताको अनुभव आवश्यक हुने बताए। “राष्ट्रिय संकटमा विपक्षीसँग पनि संवाद गर्न सक्ने लचिलोपन आवश्यक छ,” उनले भने।
नेतृत्व रूपान्तरण र युवाको सहभागितामा जोड
केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले हालको परिस्थितिमा पार्टीले गहिरो आत्ममूल्यांकन गर्नुपर्ने बताउँदै एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने व्यवस्था गर्न प्रस्ताव गरे।
उनले पार्टीका सबै संरचनामा ३३ प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा पनि राखे।
त्यस्तै, केन्द्रीय सदस्यहरूले भीम रावलको निलम्बन फिर्ता गर्नुपर्ने माग गर्दै पार्टी एकताको पक्षमा आवाज उठाएका छन्।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहीबारसम्म १९० जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। अब स्थायी कमिटी र पदाधिकारीले धारणा राखेपछि बैठक शुक्रबार सकिने तयारी छ।
बैठकले प्रतिनिधिसभा पुनःस्थापनाबारे निष्कर्ष निकाल्दै दसौं केन्द्रीय कमिटी बैठकलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने सम्भावना रहेको बताइएको छ।
















