काठमाडौं– नेपालभर आज विजयादशमी पर्व धुमधामका साथ मनाइँदैछ। परम्पराअनुसार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा ग्रहण गर्ने प्रचलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार देवी विसर्जनको साइत बिहान ९:२३ बजे तोकिएको छ भने टीका ग्रहण गर्नका लागि उत्तम साइत बिहान ११:५३ बजे हो।
दशैँको मुख्य दिन मानिने विजयादशमीलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। मान्यजनबाट टीका–जमरा ग्रहण गर्दा यश, ऐश्वर्य, दीर्घायु र कार्यक्षमतामा वृद्धिको आशीर्वाद लिने परम्परा रहेको छ।
धार्मिक विश्वासअनुसार आजकै दिन त्रेतायुगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेका थिए। त्यसै समयदेखि यस पर्वलाई विजयादशमीका रूपमा मनाउन थालिएको मानिन्छ।
साइतअनुसार टीका ग्रहण गर्नेमा आशीर्वादसहित मन्त्र उच्चारण गर्ने चलन छ। महिलालाई देवीको स्वरूप मानेर विशेष मन्त्र पढिन्छ भने पुरुषलाई वीरता, आयु, ऐश्वर्य र ज्ञानसम्बन्धी आशीर्वाद दिइन्छ।
कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका–जमरा ग्रहण गर्न सकिन्छ। यस अवधिमा पूजाआजाबाट प्राप्त जमरा समृद्धिको प्रतीकका रूपमा मानिने गरिएको छ।
















