काठमाडौँ — नेपाली श्रमिकका प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरबले कामदार भिसा निलम्बन गरेपछि हजारौँ कामदार अनिश्चिततामा परेका छन्।
म्यानपावर व्यवसायीका अनुसार असोज महिनामै यूएईका लागि अन्तर्वार्तामा छानिएका १० हजारभन्दा बढी नेपालीको भिसा रोकिएको छ। कतिपयले रोजगारीका लागि ऋण लिइसकेकाले ठूलो जोखिममा परेका छन्।
यूएईले नेपाललाई अनौपचारिक रूपमा मात्र जानकारी दिएको छ, कारण भने स्पष्ट गरेको छैन। तर हालै नेपालमा भएको हिंसात्मक प्रदर्शन र कैदीहरू जेलबाट फरार भएको घटनापछि सावधानीस्वरूप यस्तो निर्णय गरिएको अनुमान छ।
गत वर्ष मात्रै २ लाख ६० हजारभन्दा बढी नेपाली यूएई गएका थिए। साउदी अरबमा पनि गत वर्ष १ लाख ५० हजारभन्दा बढी नेपाली पुगेका थिए। तर भदौ २२ पछि साउदीले पनि नयाँ भिसा जारी नगरेको व्यवसायीहरू बताउँछन्।
श्रम विज्ञहरूका अनुसार यूएई र साउदी दुवैमा भिसा रोकिँदा बेरोजगार युवाको संख्या बढ्ने र रेमिट्यान्समा ठुलो असर पर्नेछ। मलेसिया अझै पूर्ण रूपमा नखुलेको र खाडी क्षेत्रमा राजनीतिक तनाव बढ्दो अवस्थामा रोजगारी संकट अझ गहिरिने चेतावनी उनीहरूले दिएका छन्।
















