शिव ढकाल
आइतबार, असोज ५, २०८२
बेलायत – एबरडिनको ब्रिज अफ डनस्थित NHAS हल (युनिट बी, २ बलगाउनी ड्राइभ, AB22 8GU) मा हिजो साँझ सम्पन्न नेपाली संगीत तथा नृत्य महोत्सवले प्रवासी नेपाली समुदायलाई उल्लास, एकता र सांस्कृतिक गौरवको अनुभूति दिलाएको छ । करिब २०० दर्शक–श्रोताको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा युवा प्रतिभाद्वारा सांगीतिक विविधता र पारंपरिक–आधुनिक संस्कृतिको आकर्षक मिश्रण प्रस्तुत गरियो।
कार्यक्रमको सुरुवात युवा प्रतिभा आरम्भ ढकालले पियानोमा प्रस्तुत गरेको राष्ट्रिय गान बाट भयो, जसले हलभरि उपस्थित दर्शकमा देशभक्ति र गौरवको वातावरण सिर्जना गर्यो। तत्पश्चात् एनएचएएस अध्यक्ष हेमराज पहारीले स्वागत मन्तव्य दिँदै यस्ता सांस्कृतिक कार्यक्रमहरूले प्रवासी नेपाली समुदायलाई आपसी एकता, आत्मीयता र संस्कृतिक पहिचानमा बाँध्ने उल्लेख गरे।
सांगीतिक प्रस्तुतिको क्रमसँगै हलमा थप उत्साहको वातावरण सिर्जना भयो। स्थानीय गायक टक थापा र दुर्गा घिमिरे ले प्रस्तुत गरेको नेपाली पारम्परिक गीतले उपस्थित दर्शकहरूलाई मौलिक तथा सांगीतिक आनन्द दिन सफल भयो र दर्शकहरू गायनमा सामेल भई ताल, स्वर र उत्साहमा सहभागिता जनाए।
नृत्य प्रस्तुति पनि साँझको आकर्षक अंश बन्यो। सोयाशा आले, समर थापा र कृतिका भेटुवालको ऊर्जावान नृत्यले दर्शकलाई मन्त्रमुग्ध तुल्यायो भने अरिनाले माइकल ज्याक्सन शैलीमा प्रस्तुत गरेको नृत्य साँझकै उत्कृष्ट र सम्झनायोग्य क्षण बनेको थियो। त्यस्तै, युवा गायिका गिरीषा र सुजानाले आफ्नो मधुर स्वरले हलभरि भावनात्मक प्रभाव सिर्जना गरे।
साँझको उत्कर्ष क्षण तब आयो जब ‘रेशम फिरिरी’ भन्ने गीतको संगीतले हल गुन्जियो, संगीत सुरु हुनासाथ सम्पूर्ण हलमा उपस्थित दर्शकहरू उभिएर गीतमा सामेल भए, ताली, स्वर र उत्साहको गुञ्जनले हललाई एक अविस्मरणीय सांगीतिक अनुभवमा परिणत गर्यो।

मुख्य सांगीतिक समूहका सदस्यहरू — सुवार्जन, सेमी, कुमार, मेश, निवा र ध्रुव — ले प्रस्तुत गरेका करिब १५–१६ गीतले हलमा उपस्थित सबैलाई नाचन, गाउन र रमाइलो गर्न बाध्य बनायो। कार्यक्रम साँझ ७ बजेदेखि मध्यरात १२ बजेसम्म चल्यो र प्रवासी नेपाली समुदायको बीचमा सांगीतिक र नृत्यात्मक ऐक्यबद्धता झल्कायो।
यस महोत्सवले प्रवासमा पनि सांस्कृतिक पहिचान जगेर्ना गर्न सकिन्छ र नयाँ पुस्ताले आफ्नो प्रतिभा विश्वमञ्चमा प्रस्तुत गर्न सक्छ भन्ने प्रमाण पेश गरेको छ ।


















