काठमाडौं — नेपालकी पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले आफ्नो पार्टी सदस्यतामाथि प्रश्न उठाइएको विषयमा गम्भीर आपत्ति जनाउँदै पत्र सार्वजनिक गरेकी छिन्।
नेकपा (एमाले) की वरिष्ठ नेतृ भण्डारीले पार्टी सदस्यता नवीकरण भइसकेको भए पनि त्यसलाई अस्वीकार गरिएको भन्दै यसलाई आफ्नो आस्थामाथि कुठाराघात भएको टिप्पणी गरेकी छिन्। उनले यसबारे सकारात्मक र स्पष्ट निर्णय गर्न नेतृत्वलाई आग्रह गरेकी छिन्।
पत्रमार्फत उनले आफ्नो राजनीतिक जीवनभर पार्टी, लोकतन्त्र, महिला अधिकार र सामाजिक न्यायका लागि गरेको योगदान स्मरण गर्दै भनिन्, “विशेष निर्णय गरेर मलाई पार्टीले राष्ट्रपति पदमा पठाएको थियो, सो जिम्मेवारी पूरा गरेर फर्किएपछि पुनः सदस्यता नवीकरण गरेको हुँ। तर अहिले त्यसलाई निष्क्रिय बनाउन खोजिनु दुःखद छ।”
भण्डारीले सदस्यता विवाद केवल व्यक्तिगत नभई संगठनात्मक विधि, मूल्य र लोकतान्त्रिक संस्कृतिसँग गाँसिएको बताएकी छिन्। उनले पार्टीभित्र देखिएको असहमतिले कार्यकर्ता र जनताबीच भ्रम सिर्जना गरेको भन्दै सच्याउन आग्रह गरेकी छिन्।
“मेरो यो आग्रह व्यक्तिगत आकांक्षा होइन, बरु पार्टीको भविष्य र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि हो। पार्टी बलियो भए मात्रै देश बलियो हुन्छ,” पूर्व राष्ट्रपति भण्डारीले लेखेकी छन्।
















