
कुसुम शर्मा
यू के नेपाल प्रेस, बेलायत
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा अझै ठूलो जिम्मेवारी बाँकी रहेको भन्दै राजीनामा नदिने स्पष्ट सन्देश दिएका छन्।बुधबारदेखि जारी एमाले केन्द्रीय समिति बैठकको समापन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्व र आन्दोलनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका हुन्।
‘केही साथीहरूले राजीनामा माग्नुभयो,’ ओलीले भने, ‘तर मसँग आएर माग्नु भएको होइन, माइकमा सोधिएको थियो। म ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर आएको हुँ। मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी म छाड्दिनँ।’उनले थपे, ‘राजीनामाबारे अन्तिम निर्णय पार्टीको महाधिवेशनले गर्नेछ। प्रतिनिधिहरूसँग छलफल गरी त्यसैबाट निष्कर्षमा पुग्नेछौं।’
अध्यक्ष ओलीले पार्टीभित्रको मतभेदलाई संवाद र मित्रताका साथ समाधान गर्न सबैलाई आग्रह गरे। उनले भने, ‘पार्टीलाई तिक्तताका साथ होइन, मित्रताका साथ अघि बढाऔं। संगठन बलियो बनाउन हामी सबै एक भएर लागौं।’
एमाले केन्द्रीय समिति बैठकले हालैका राजनीतिक घटनाक्रम, भदौ २३ र २४ गतेका घटनाको समीक्षा र आगामी महाधिवेशन तयारीबारे छलफल गरेको थियो। ओलीले उक्त बैठकमार्फत पार्टीभित्र देखिएका असन्तोषहरू सम्बोधन गर्दै नेतृत्व परिवर्तनको माग महाधिवेशनमा नै निर्णय हुने बताएका हुन्।
















